नियम ८८
बिदा लिने कार्यविधि
: (१) बिदा लिन चाहने प्रहरी कर्मचारीले आफूलाई चाहिएको बिदाको अवधि, कारण र विदेश जानुपर्ने भए सो समेत खोली रीतपूर्वकको लिखित दरखास्त आफु हाजिर रहेको कार्यालय मार्फत बिदा स्वीकृत गर्ने अधिकारीसमक्ष पेश गर्नु पर्छ । यस्तो दरखास्त प्राप्त भए पछि विदा स्वीकृत गर्ने अधिकारीले बिदा स्वीकृत वा अस्वीकृत भएको कुराको सूचना सम्बन्धित प्रहरी कर्मचारीलाई दिनु पर्नेछ ।
(२) बिदाको लागि दरखास्त प्राप्त भए पछि बिदा दिने अधिकारीले परिस्थितिको विचार गरेर बिदा स्वीकृत वा अस्वीकृतको निर्णय गर्नेछ ।
(३) भैपरी आउने बिदाको हकमा बिदा स्वीकृत गर्ने अधिकारीले उपनियम (१) बमोजिम दरखास्त नदिए पनि मौखिक अनुरोधको आधारमा त्यस्तो बिदाको स्वीकृति दिन सक्नेछ ।
(४) देहायमा लेखिए बमोजिमका कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले बिदाका लागि दरखास्त परेको मितिभन्दा अगाडि देखि लागू हुने गरी बिदा स्वीकृत गर्न सक्नेछ :
क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिइरहनु सम्भव थिएन भने, वा
(ख) पूर्व स्वीकृतिका लागि निवेदकले सकभर प्रयास गरेको थियो भने ।